काठमाडौँ – काठमाडौँ महागरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पठनपाठन छाडेर आन्दोलनमा उत्रिने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोष्ट साझा गर्दै बालेनले पठनपाठनमा अवरोध पुर्याए कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


देशभरका शिक्षक सरकारले संसदमा दर्ता गराएको संघीय शिक्षासम्बन्धी ऐनको विरोधमा आन्दोलनमा रहेका छन् । सोही अनुसार भोलि काठमाडौँका विद्यालयमा पठनपाठन बन्द गरेर शिक्षक आन्दोलनमा उत्रिने खबर बाहिरिरहेका बेला बालेनले यस्तो चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउनु होला । यस्ता अवरोध पुर्याउनेहरुलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’ साथै उनले सरकारले संसदमा दर्ता गराएको विधेयकप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रमुख बालेनले आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले संघीय सरकारले विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरित रहेको बताएका छन् । साथै उनले सरकारको उक्त कदम स्वीकार नगर्ने समेत बालेनले सचेत गराएका छन् ।

‘संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।’ उनले भनेका छन्, ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’