काठमाडौँ — जारी शिक्षक आन्दोलनमा रुकुम पश्चिमकी प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) निर्मला वली घाइते भएकी छिन् ।
बुधबार माइतीघर—नयाँ बानेश्वर सडकमा आन्दोलन गरेका शिक्षकमाथि प्रहरीले लाठी र बुट बर्साएको हो । प्रहरीको लाठी र बुटबाट आफू घाइते भई अस्पतालमा रहेको वलीले न्यूजगृहलाई जानकारी दिइन् ।
हप्तादिन बढी आन्दोलन भइसक्दा पनि माग सुनुवाइ नभएपछि आक्रोशित शिक्षकले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेका थिए । सो क्रममाः प्रहरीले उनीहरुलाई रोकेको थियो ।
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचाररत वलीले आफ्नो कुहुनाेकाे हड्डी भाँचिएको जानकारी डाक्टरले दिएको बताइन् ।
उनले भनिन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण थियो । नयाँ बानेश्वर क्षेत्रम हाम्रो आक्रोशित भीडले निषेधित क्षेत्र तोड्न लागेको भन्दै प्रहरीले लाठी र बुट प्रहार गर्यो । सो क्रममा म घाइते भएँ । डाक्टरले कुहुनोको हड्डी भाँचिएको छ भन्नुभएको छ ।’
वलीको उपचारका लागि नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्ण कुमारी थापा मगरलगायतले सहयोग गरेका छन् ।
बालविकास शिक्षकले बालविकास केन्द्रलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने र आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई अनुदान दिएर बिदा गर्नुपर्नेलगायत माग राखेका छन् ।