काठमाडौँ – ‘जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु ।’
‘सांसदसँग रासस संवाद’ मा नेकपा (एमाले) की नेत्री रणकुमारी बलम्पाकी मगर यसरी जनताका माग र आवश्यकता सम्बोधन नभएकामा असन्तुष्टि पोख्दै आफूहरूले कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दैआएको बताउछिन् । उनले सांसदको मुख्य काम अहिले करिब ४० कानुन तत्काल बनाउनैपर्ने रहेकामा किन ढिलासुस्ती भयो भन्ने बुझिनसक्नु रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘सदनमा यो मेरो पहिलो प्रवेश हो । यसबीचमा सदन नियमित भएन । कानुन निर्माणमा तपाईँहरूले ध्यान दिनुभएन भन्ने जनताको आरोप छ, यस मामिलामा सरकार स्वयं तात्नुपर्ने हो, हामीले मात्र भनेर हुँदोरहेन छ ।’
सदनमा राजनीतिक दलको सिट सङ्ख्या र त्रिकोणात्मक शक्ति सन्तुलनले राजनीतिलाई सहजरूपमा अघि बढाउन चुनौती खडा गरेको जनाउँदै नेत्री बलम्पाकीले सरकार बचाउने र टिकिरहने मनस्थितिले भ्रष्टाचार, महँगी र अनियमितताका विषयमा तै चुपमैचुपको स्थिति बनेको विचार प्रकट गरिन्। उनी भन्छन्, ‘कुटपिट, हत्या, अपहरणमा संलग्न व्यक्तिलाई सरकारले नै संरक्षण दिइरहेको घटना एकपछि अर्को गर्दै बाहिरिएको अवस्थाले समाज र जनतामा राजनीतिप्रति वितृष्णा र अविश्वास पैदा भएको छ ।’
धारा, पानी, बाटो, सडक, पोखरी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकास निर्माणको काम स्थानीय र प्रदेश सरकारको जिम्मेवारीभित्रका विषय भए पनि त्यसमा सांसद संलग्न हुने स्थिति राम्रो नभएको उनले प्रतिक्रिया दिइन् । न्यूनतम उपस्थिति सङ्ख्या अपुग भई विधेयक ‘फेल’ हुने अवस्था आउन दिन नहुने पक्षलाई सांसद स्वयंले हेक्कामा राख्न जरुरी रहेको बताउँदै ओखलढुङ्गामा जन्मेर सिन्धुलीलाई कर्मथलो बनाउँदै आएकी उनी भन्छिन्, ‘एउटा विधायक हुनाका नाताले हाम्रो सर्वोच्च जिम्मेवारी कानुन नै निर्माण गर्नु हो ।’