काठमाडौँ – सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधादर्जन बढी रिट निवेदन दर्ता भएको छ ।
टिकटक बन्द गर्ने निर्णय नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।
दर्ता भएका रिट निवेदनहरुमाथि आगामी सोमबारबाट सुनुवाई हुने वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए । त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरेको जानकारी दिए । संविधनमा हरेक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको अधिकार सुनिश्चिचता गरिएको भन्दै सरकारको निर्णय बदर गर्नुपर्ने उनले बताए ।
उनले विज्ञहरुको टाक्सफोर्स बनाएर सामाजिक सञ्जालमा भइरहेको दूरुपयोग गर्न सरकारले पहल लिनुपर्ने जिकिर गरे । त्यस्तै अधिवक्ता स्वागत नेपालले टिकटक बन्द गर्ने निर्णय आधारहिन भएकाले यसलाई बदर गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गरिएको बताए । अभिव्यक्ति स्वतन्त्रताको विपरित सञ्चारमाध्यमलाई प्रतिवन्द गराउनु जायज नभएको उनको भनाइ छ ।
टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव खल्वलिएको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।