काठमाडौँ — शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कँदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो ।
धनुषाको धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्किँने क्रममा मेची राजमार्गको कोल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी धनुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा ३२ जना घाइते छन् । उनीहरु सबै धारापानीका हुन् ।
बस चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको छ ।