काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समयमा नै स्थानीय तहको निर्वाचन हुनेमा संशय उत्पन्न भएको बताए ।
शुक्रबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले तोकिएको समयभित्र चुनाव गर्ने वा नगरिने भन्ने विषयमा संशय रहेको र समयमा निर्वाचन नभएमा स्थानीय तह नै चुनावविहीन बन्ने अवस्था आउन सक्ने बताए ।
उनले तोकिएको समयमा निर्वाचन गर्न सरकारले आवश्यक गृहकार्य नगरेको धारणा राखे । पौडेलले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा गराउने सोच भए वा स्थानीय तहको संख्या हेरफेर गर्नुपर्ने संविधान संशोधन गर्नुपर्ने भएपनि यसमा पनि सरकाले कुनै तयारी नगरेको बताए ।
संविधान सुधार कार्यदल बनाएर बहस र समितिको गठन गरिए तापनि संविधान संशोधन गर्न चाहेको हो वा केवल हल्ला मात्रै गर्न खोजेको भन्ने प्रश्न उत्पन्न भएको उनको भनाइ छ । उनले सरकारले कुनै पनि बहानामा लोकतन्त्रमाथि आघात पुराउने काम गरे कांग्रेस चूप लागेर नबस्ने चेतावनी समेत दिए ।


























