काठमाडौं – छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ ।
छठ पर्वको मुख्य दिन नजिकिदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगाएतका स्थानमा छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारत लगाएतका देशहरुबाट ल्याइने गरिएको छ ।
बाँसका ढाकी, कुनिया लगायतका सामग्री पनि छठ पूजाका लागि अनिवार्य मानिने भएकाले यसको मुल्य पनि बढेको उपभोक्ताहरुले जनाएका छन् । छठ पर्वमा बाँसका कुनिया र ढक्कीमा पूजा सामग्री सजाएर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ ।
यस बर्षको छठ पर्वअन्तर्गत कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिदैछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ ।
विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकाका पनि भव्यताका साथ मनाइने गरिएको छ ।


























