काठमाडौं – काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ ।

महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि तथा समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्दै अभियानलाई संस्थागत रूप दिन लागेको हो ।


ADVERTISEMENT

#


शुक्रबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले विदेशमा रहेका नेपाली सम्पदाको पहिचान, प्रमाणीकरण र पुनःस्थापनाका लागि सरकारी निकाय, अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा विदेशस्थित नेपाली समुदायसँगको सहकार्यलाई प्रभावकारी बनाइने बताइन् ।

उनले सम्पदा संरक्षण भनेको भौतिक संरचनाको संरक्षणमा मात्र सीमित नभई चोरी तथा अवैध ओसारपसार रोक्नु र विदेशमा रहेका सम्पदालाई स्वदेश फर्काएर साविककै स्थानमा पुनःस्थापना गर्नु पनि भएको बताइन् ।


ADVERTISEMENT

#
#


डंगोलका अनुसार विदेशमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको छ । त्यसैले महानगरले सम्पदाको तस्बिर, भिडियो, ऐतिहासिक विवरणलगायत सामग्री व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने योजना बनाएको छ ।

महागौरीको मूर्ति पुरानो तस्बिरकै आधारमा पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सफल भएको उदाहरण दिँदै उनले अभिलेखीकरणको महत्त्व औँल्याइन् । त्यस्तै, हराएका धार्मिक सम्पदाबारे प्रहरीमा औपचारिक उजुरी गर्ने अभ्यासलाई समेत प्रोत्साहन गरिने उनले बताइन् ।

यसअघि तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा उजुरी गरेको प्रमाण आवश्यक परेको तर उजुरी गर्ने अभ्यास नहुँदा प्रमाण जुटाउन कठिन भएको उनको भनाइ थियो ।

महानगरले सम्पदा संरक्षणसम्बन्धी जनचेतना अभियान जनप्रतिनिधि र कर्मचारीबाट सुरु गरी नगर प्रहरी, गुठी, सङ्घसंस्था, टोल सुधार समिति तथा स्थानीय समुदायसम्म विस्तार गर्ने जनाएको छ । साथै, सम्पदा संरक्षणका क्रममा हुन सक्ने क्षति न्यूनीकरण गर्न फिल्डमा खटिने कर्मचारीलाई आवश्यक तालिमसमेत दिइनेछ ।