काठमाडौँ – चिनियाँ वायु सेवा कम्पनी ‘एयर चाइना’ले ट्रान्जिटमा होटेल आवासका नाममा यात्रुहरुमाथि ठगी गरेको पाइएको छ । एयरलाइन्सले काठमाडौँदेखि चीनको छेङ्दु ट्रान्जिट बनाएर दक्षिण कोरिया गएका यात्रुलाई छेन्दुमा आवासका लागि निःशुल्क हाटेलको व्यवस्था गरिएको भनेर पैसा लगे पनि आवास सुविधा नदिएको पाइएको हो ।
यस्तो छ घटना
गत अगस्ट २९ मा राजनसिंह भण्डारी काठमाडौँबाट चीनको छेङ्दुस्थित तियान्फु विमानस्थल ट्रान्जिट बनाएर दक्षिण कोरिया जानका लागि उडेका थिए । गोल्डेनगेट होलिडेज ट्राभल एन्ड ट्रेक्सबाट टिकट लिएका उनलाई टिकट लिँदा छेन्दुमा ट्रान्जिटका बेला होटेलमा निःशुल्क राख्ने व्यवस्था हुने बताइएको थियो । सोही अनुसार उनले काठमाडौँ– छेङ्दु (चीन)–इन्चेन (दक्षिण कोरिया)–छेङ्दु (चीन)–काठमाडौँ यात्राका लागि ८३ हजार रुपैयाँमा टिकट खरिद गरे ।
काठमाडौँबाट २९ अगस्टमा उडेका राजन सोही दिन चीनको छेङ्दुस्थित तियान्फु विमानस्थल पुगे । छेङ्दुमा करिब १५ घण्टा ट्रान्जिट हुने भएकाले त्यहाँ निःशुल्क होटेलको व्यवस्था गरिएको एयरलाइन्सले प्रतिवद्धता गरेको थियो । अगस्ट २९ र सेप्टेम्बर ४, २०२३ को लागि एयरलाइन्सले राजनलाई छेङ्दुस्थित तियान्फु डेरुन्डा होटेल (जी३)मा आवासको लागि होटेल भौचर दिइएको थियो । तर, छेङ्दु पुगेपछि टिकट काट्दा २४ घण्टाभन्दा कम समयका लागि ट्रान्जिटमा बस्नेहरुका लागि भिजा आवश्यक नरहेको बताएको भए पनि आफूलाई एयरपोर्ट बाहिर जान नदिएको, प्रतिवद्धता अनुसार होटेलको व्यवस्था नगरिएको र एयरलाइन्सका कर्मचारीले असहयोग गरेको राजनले बताए ।
यस्तै ४ सेप्टेम्बरमा दक्षिण कोरियाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किँदा पनि करिब १७ घण्टा ट्रान्जिट बनाइएको छेङ्दुमा पहिलेकैजस्तो समस्या झेल्नुपरेको राजनले बताए । ‘तर दुबै समयमा मलाई भनेअनुसार होटेल उपलब्ध गराइएन । बरु छेङ्दुमा डिपार्चर गेट अगाडि राखिएका कुर्चीमा पूरै रात काट्न भनियो ।’ उनले भने, ‘एयरलाइन्सले टिकट काट्दा गरिएको बाचा, प्रतिवद्धता पूरा नगर्दा मलाई लुटिएको अनुभव भयो ।’
एयरलाइन्सले आफ्नो वाचा पूरा नगरेपछि पूरै रात कुर्चीमा काट्न नसकेर विमानस्थलमै रहेको बिजनेस लजमा गएर सुतेको र प्रत्येक रातको चिनियाँ युआन १२ सय (२२ हजार ६३३ नेपाली रुपैयाँ) गरी कूल २ रातको २४ सय युआन (४५ हजार ३७३ नेपाली रुपैयाँं) तिर्नुपरेको उनले बताए ।
एयरलाइन्सद्वारा क्षतिपूर्ति दिन आनाकानी, ट्राभल एजेन्सीमाथि थुपार्यो दोष
एयर चाइनाको गल्तीका कारण आफूले सास्ती भोग्नुपरेको भन्दै राजनले १५ सेप्टेम्बरमा एयर चाइनालाई इमेल गरे । साथै उनले एयरलाइन्सले प्रतिवद्धता अनुसार होटेल व्यवस्था नगर्दा व्यक्तिगत रुपमा विमानस्थलका लडमा बास बस्दा २ रातको आफ्नो २४ सय युआन खर्च भएको भन्दै राजनले क्षतिपूर्ति पाउनुपर्ने मान गरे । तर, एयर चाइनाले भने टिकट काट्ने एजेन्सीलाई पहिले नै जानकारी गराए पनि एजेन्सीले यात्रुलाई जानकारी नगराउँदा समस्या पैदा भएको बताएको प्रतिक्रिया दियो ।
मेलमा एयर चाइनाले भनेको छ, ‘हामीलाई जानकारी भएसम्म हाम्रो एयरलाइन्सले तपाईंलाई अध्यागमनका काम पूरा गरेर एयरपोर्टबाट बाहिरिनका लागि रोकेको थिएन । यो निर्णय अध्यागमन कार्यालय वा अध्यागमन विभागले गरेको हो । अध्यागमनले तपाईंलाई छेङ्दुमा अध्यागमनको प्रक्रिया पूरा गर्न किन दिएन भन्ने जानकारी एयरलाइन्ससँग छैन ।’
एयरलाइन्सले भनेअनुसारको होटेल आवासका लागि कुनै पनि शुल्क नलाग्ने भए पनि आफैले वास बसेमा त्यसको क्षतिपूर्ति दाबी गर्न नपाइने बताएको छ । चाइना एयरले भनेको छ, ‘एयरलाइन्सले उपलब्ध गराएको होटेलका लागि हामी यात्रुसँग कुनै किसिमको शुल्क लिँदैनौँ । तर, कम्पनीको नियम अनुसार यात्रु आफैले वास बसेमा कुनै पनि किसिमको होटेल बसाईको शुल्क हामी तिर्दैनौँ ।’
यता राजनले भने आफूले एयरलाइन्सका कर्मचारीलाई आफूलाई होटेलमा लैजान भने पनि कर्मचारीले इन्कार गरेर विमानस्थलमै बस्न बाध्य पारेकाले क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘छेङ्दुमा पुग्दा चाइना एयरका कर्मचारीले मलाई आगामी यात्रा (इन्चेन)का लागि बोर्डिङ पास दिएर ट्रान्जिट काउन्टरमा लैजान खोजे । मैँले एयरलाइन्सले उपलब्ध गराएको होटेलमा लगिदिन लगातार आग्रह गर्दा पनि उनले अस्वीकार गरे र सिधै प्रस्थान गेट अगाडि लगेर भने–तपाईंले यहीँ बस्नुपर्छ ।’ आफूजस्तै अन्य १७ जना यात्रुलाई पनि एयर चाइनाले यस्तै व्यवहार गरेको राजनले बताएका छन् ।
यता टिकट काट्ने गोल्डेनगेट होलिडेजले भने एयर चाइनाको भनाई आश्चर्यजनक रहेको बताउँदै एजेन्सीको गल्ती भएको प्रमाण देखाउन चेतावनी दिएको छ । एजेन्सीका दिनेश बस्नेतले इमेलमा एयर चाइनालाई भनेका छन्, ‘प्रस्थानको अन्तिम मिनेटसम्म पनि म आफ्नो यात्रुहरुसँग होटेल आवासका लागि सम्पर्कमा थिएँ । मैँले काठमाडौँस्थित एयर चाइनाको कार्यालयमा पनि यसको प्रक्रियाबारे बुझेको थिएँ । त्यहाँबाट गेट नं. १४ मा जान भनेर हामीलाई इमेल आएको थियो । जुन मैँले हाम्रो यात्रुलाई फरवार्ड गरेको थिएँ । एयर चाइनाले हामीलाई यो भन्दा बढी केही पनि जानकारी गराएन ।’
होटेल आवासकै कारण यात्रुहरुले एयर चाइनालाई रोजेको बताउँदै उनले एयरलाइन्सले यात्रुको भावनालाई बुझ्नुपर्ने बताएका छन् । यसबारे राजनले काठमाडौँस्थित चिनियाँ राजदूतावासमा समेत गुनासो गरेका छन् । उनले एयर चाइनाको गल्तीका कारण आफ्नो खर्च भएको बताउँदै त्यसको क्षतिपूर्ति दिलाइदिन आग्रह गरेका छन् ।