हेटौंडा – सिटी स्क्यानसम्बन्धी सेटिङमा असहयोग गरेको भन्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालाई हटाईएको छ ।


ADVERTISEMENT


बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री उत्तम जोशीले सचिव खड्कालाई जिम्मेवारीबाट हटाएर बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कामविहीन बनाएर पठाएका हुन् ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार मन्त्री जोशीले सिटी स्क्यानसम्बन्धी काम अघि बढाउन पटकपटक दबाब दिँदा पनि सचिव खड्काले मानिरहेका थिएनन् । मेसिनको खरिदका लागि मन्त्री जोशीका स्वकीय सचिवले कमिसन नै मागेको अडियोसमेत स्रोतसँग सुरक्षित रहेको बताईएको छ ।

मिलेमतोमा मेसिन खरिदका लागि बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिँह लामाको निर्देशनमा अर्थमन्त्रालयबाट सोझै भक्तपुर, सिन्धुली र त्रिशुली अस्पताललाई रकम निकासा गरी प्रक्रिया अघि बढाईएको समेत बुझिएको छ । एकातिर करोडौं खर्चेर मेसिन खरिद प्रक्रिया अघि बढाइरहँदा अर्कातिर काममा सहयोग नगरेको भन्दै सचिव खड्कामाथि अन्याय भएको मन्त्रालयका कर्मचारीहरुले हिमालय पोष्टलाई बताए ।

११ महिना मात्रै समय बाँकी रहेका सचिव खड्का आफूमाथि अन्याय भएको भन्दै अदालत जाने तयारीमा रहेको समेत जानकारी प्राप्त भएको छ । ईमान र प्रतिष्ठा जोगाएर सेवाको उत्तरार्द्धमा आइपुग्दा गलत कामलाई नसघाएको बहानामा पीडित हुन पुगेको भन्दै सचिव खड्का न्यायको खोजिमा रहेको कर्मचारीहरु बताउँछन् ।

प्रदेशप्रतिकै वितृष्णा बढिरहेका बेला अनियमितता र चलखेलका काण्डहरुले संघीयताको उपायदेयतामाथि थप प्रश्न तेस्राएको छ । अझ यस्ता गैरकानुनी गतिविधिहरु जनप्रतिनिधि र मन्त्रीहरुकै तहमा बाहिर आइरहँदा व्यवस्था विरोधीहरुलाई थप मलजल पुगेको छ ।

गहिरो आर्थिक संकट र तरल राजनीतिक वातावरणले मुलुक संवेदनशील अवस्थामा पुगिरहँदा सेटिङलाई सफल गराउन मन्त्रालयका सचिवलाई नै सरुवा गरेर स्वार्थ सफल बनाउने प्रपञ्चले ‘कहीँ नभएको जात्रा बागमती प्रदेश’मा भन्ने हल्ला सर्वत्र भईरहेको छ ।