काठमाडौं – नेपाली युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा. सञ्जय खड्गीले अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ प्राप्त गरेका छन् । यो सम्मान प्राप्त गर्ने उनी पहिलो नेपाली युरोलोजिस्ट बनेका छन् ।
इटालीको फ्लोरेन्समा नोभेम्बर ११ मा आयोजित सोसाइटी इन्टरनेसनल डी युरोलोजी (एसआईयू) को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डा. खड्गीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
युरोलोजी चिकित्सा क्षेत्रमा जीवनभर पुर्याएको योगदान, समर्पण तथा यस विधाको विकास र विस्तारमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको कदरस्वरूप उहाँलाई यो सम्मान प्रदान गरिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय स्तरको यस सम्मानलाई नेपाली चिकित्सा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसले विश्व चिकित्सा जगतमा नेपाली चिकित्सकहरूको दक्षता, क्षमता र योगदानलाई थप अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ ।
डा. खड्गीको यस उपलब्धिले समग्र नेपाली चिकित्सा समुदायलाई गौरवान्वित बनाएको छ ।


























