काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवसको अवसरमा सरकारले कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो। आन्तरिक राजस्व विभागद्वारा मंगलबार आयोजित करदाता सम्मान कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले उक्त सम्मान प्राप्त गरेको हो। कम्पनीले व्यावसायिक कारोबार विस्तारसँगै सरकारलाई राजस्व योगदानमा समेत अग्रणी स्थान हासिल गरेको जनाएको छ।
सरकारबाट प्राप्त सम्मानले कम्पनीलाई आगामी दिनमा व्यवसाय विस्तार र सेवाको गुणस्तर अभिवृद्धिका लागि थप हौसला मिलेको प्रमुख कार्यकारी अधिकृत वैदवारले बताए । उनले राज्यप्रतिको आर्थिक दायित्व पूरा गर्दै बीमा क्षेत्रको विकास र विस्तारमा निरन्तर योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक कर तथा राजस्व योगदान गर्ने व्यक्ति र संस्थालाई सम्मान गर्दै आएको छ।
इन्स्योरेन्सको यो सम्मानले निर्जीवन बीमा क्षेत्रको व्यावसायिक गतिविधि र राज्यको राजस्वमा निजी क्षेत्रको योगदानलाई समेत उजागर गरेको छ।


























