काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । यसक्रममा राष्ट्रपति पौडेलले महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउनका लागि सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गर्ने बताए ।
राष्ट्रपतिले यो कार्यक्रमबारे वाचन गरिरहँदा संसदमा भने हाँसोको फोहोरा छुटेको छ । सांसदहरुले एकआपसमा कानेखुसी गर्दै हाँसो छुटाएपछि संसद भवन नै हाँसोले गुञ्जियो ।
पछ्रिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीहरु राजनीतिक रुपमा सक्रिय छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नी छोरी गंगा दाहाललाई स्वकीय सचिव बनाएका छन् भने अर्की छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर छिन् ।
प्रधानन्त्री सचिवालयमा गंगाको उपस्थिति र व्यवहारबारे बेलाबेला प्रश्न उठ्ने गरेका छन् । यस्तोमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा भएसँगै सांसदहरुले त्यसतर्फ संकेत गर्दै हाँसो छुटाएका हुन् ।