काठमाडौं – साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर २६०० विन्दुमुनि झरेको छ ।

बुधबार नेप्से परिसूचक ४ दशमलव ८२ अंकले घटेर २५९८ दशमलव ८९ विन्दुमा बन्द भएको हो । यससँगै नेप्से नौ कारोबार दिनपछि पुनः २६०० विन्दुमुनि झरेको छ । यसअघि भदौ २९ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो ।

बजार परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३५२ स्टकको ४७ हजार ९ सय पटकको कारोबारबाट ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

बुधबार कुल १ करोड २६ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स २ दशमलव ०२ अंक, फ्लोट इन्डेक्स शून्य दशमलव ४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६५ अंकले घटेका छन् ।

कारोबार भएका कम्पनीमध्ये सिन्धु विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै १४ दशमलव ३७ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत र घलेम्दी हाइड्रोको करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा भने घलेम्दी हाइड्रो अगाडि रह्यो । कम्पनीको करिब ३९ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको करिब २३ करोड रुपैयाँ र मञ्जुश्री फाइनान्सको १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ ।

बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढ्दा १० उपसमूहमा गिरावट आएको छ । व्यापार उपसमूह १ दशमलव १८ प्रतिशतले बढ्दा जलविद्युत र म्युचुअल फन्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।