काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पु¥याउनेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै गुरुङले घरेलु कामदारका रुपमा महिला श्रमिकलाई पठाउन नहुने भएपनि गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पु¥याउने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रूपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनीरुपमा रहेको र पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनीरुपमा कुवेत पुगेको सूचना प्राप्त भएको जिकिर गरे ।
त्यस्तै उनले आफू कुवेतबाट फर्कदा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको र उनीहरुसंग कुरा गर्दै झापाको एउटा म्यानपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर आफुहरुलाई पठाएको बताएको जानकारी दिए । उनले मानवतस्कारी गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्नेमा जोड दिए ।
बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको मेलम्चीमा २०७८ सालको बाढिपछि बनाइएको अस्थायी पुल आइतबार रातीको बाढीले बगाएको बताए । उनले अस्थायी संरचनामा मात्रै निर्भर रहदा नागरिकले सास्ती पाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।



























































