बारा– बाराको १६ स्थानीय तहले असार १० भित्रै नगरसभा गरेका छन् । स्थानीय पालिकाले असार १० मा नीति तथा कार्यक्रम र बजेट नगरसभामार्फत ल्याउनुपर्ने र असारभित्रै पास गर्नुपर्ने प्रावधान भएपनि विगतमा बाराका स्थानीय तहमा विवाद हुँदा आधाले मात्र समयमा सम्पन्न गर्न सकेका थिए ।
गतबर्ष धेरै विवादित भएको सिम्रौनगढ, पचरौता र महेन्द्र आदर्श गाउँपालिकाले यसबर्ष समयमै नीति तथा कार्यक्रम ल्याएका छन् । जबकी यी तीनै पालिकाले समयमै बजेट ल्याउन सकेका थिएनन् ।
जीतपुर सिमरा उपमहानगरमा नेकपा एमाले, नेपाली काग्रेस र लोसपाबाट निर्वाचित वडाध्यक्ष सहितका कार्यपालिकाको विरोध र तोडफोडकाबीच नगरसभा सम्पन्न गरेको छ । काग्रेस, एमाले र लोसपाकै केही जनप्रतिनिधिहरुको सहयोगमा बैठकको गणपुरक संख्या पुर्याइएको थियो ।



























































