काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोटका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन् ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले प्रधानमन्त्रीका रूपमा आफूले सुशासन कायम गर्ने सङ्कल्प गरेको बताएका हुन् ।
“मैले सङ्कल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढङ्गको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसङ्कल्प छु”, प्रधानमन्त्री दाहालले भने, “राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गरियो ।” यसैगरि सरकारले विश्वविद्यालयमा योग्यताका आधारमा नेतृत्व स्थापित गराउने प्रयास गरेको उनको भनाई छ ।
अघि बोल्दै उनले भने, “जनतालाई सुशासनको अनुभूति गराउने प्रयास भयो । देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास मेरो नेतृत्वको सरकारले गर्यो । ”



























































