काठमाडौँ – नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले मुलुकलाई स्थीरता दिदै संविधानलाई गतिशील बनाउनका लागि ठूला राजनीतिक दलहरु एक ठाँउ आएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा लेखकले सदनमा हेरक महिना विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य गर्दै राजनीतिक स्थिरता कायम गर्नका साथै समयसापेक्ष संविधानलाई गतिशील बनाउनका लागि एमालेसंग सहकार्य गरिएको बताएका हुन् ।
उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने भाषण सुनिएपनि व्यवहारमा नदेखिएको र स्टण्डको राजनीतिबाहेक केहि हुन नसकेको जिकिर गरे । मुलुकमा कानुन बमोजिम भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने गरि दुई दलबीच सहमति भएको उनको भनाई छ ।
लेखकले संविधानलाई जनताको आवश्यकता अनुसार संशोधन गर्ने भन्दै संशोधनका नाममा मुलुकलाई पछि ढकेल्न खोजेको आरोप सत्य नभएको बताए । त्यस्तै उनले सदनमा दुई ठूला राजनीतिक दलहरु मिले लोकतन्त्र कमजोर होलाकी भन्ने आशंका चिर्नका लागि माओवादीले प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
लेखकले अव एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने बताए । उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन नयाँ सरकारले प्राथमिकताका साथ काम गर्ने जिकिर गरे ।



























































