काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘छठ सम्बन्ध २०८३ : कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारी, मधेश प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।
‘सेलिब्रेटिङ आवर कल्चर, कनेक्टिङ आवर पिपुल, इनर्जाइजिङ सिटिजन्स’ भन्ने नारासहित आयोजित कार्यक्रममा मधेश प्रदेशको समृद्ध संस्कृति, परम्परा र छठ पर्वको महत्त्वबारे चर्चा गरिएको थियो । साथै, संस्थागत नेतृत्व विकास, आपसी सम्बन्ध सुदृढीकरण र कर्मचारीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बैंकले जनाएको छ ।
हाल मधेश प्रदेशका आठवटै जिल्लामा बैंकका २९ वटा शाखा सञ्चालनमा रहेका छन् ।
यसैबीच, बैंकले पछिल्लो समय डिजिटल तथा आधुनिक बैंकिङ सेवालाई विस्तार गर्दै विभिन्न नयाँ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, फ्रिलान्सरका लागि विशेष बचत खाता तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याएको जनाएको छ ।
त्यस्तै, फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको बैंकले मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।
बैंकका अनुसार हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


























