काठमाडौं – एसियन क्लियरिङ युनियन (एसीयू) को सन् २०२६र२७ का लागि अध्यक्षता नेपाल राष्ट्र बैंकले पाएको छ । नेपाल राष्ट्र बैंकको आयोजनामा काठमाडौंमा सम्पन्न युनियनको सञ्चालक समितिको ५४औँ बैठकले अध्यक्षता नेपाललाई हस्तान्तरण गरेको हो ।
नोभेम्बर १८ मा सम्पन्न बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अध्यक्षता ग्रहण गरेका थिए । अध्यक्षता ग्रहण गर्दै उनले सदस्य राष्ट्रहरूबीच स्वदेशी मुद्राको प्रयोगलाई प्रोत्साहन गर्दा बाह्य क्षेत्रको स्थायित्व सुदृढ बनाउन सहयोग पुग्ने बताए ।
बैठकमा अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण, नीतिगत सुधार, भुक्तानी तथा फर्स्योट प्रणालीको प्रभावकारिता र सदस्य राष्ट्रहरूबीचको आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो ।
भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले सीमापार भुक्तानीलाई सहज र प्रभावकारी बनाउन युनियनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संस्थागत सुदृढीकरण तथा सदस्यता विस्तारमा जोड दिए ।
त्यस्तै, बैठकले सन् २०२७र२८ का लागि सेन्ट्रल बैंक अफ म्यानमारलाई अध्यक्ष र भारतीय रिजर्भ बैंकलाई उपाध्यक्ष चयन गरेको छ । युनियनको आगामी बैठक सन् २०२७ जुनमा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णयसमेत भएको छ ।
बैठकपछि आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताका चुनौती सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास आवश्यक रहेको बताए । उनले पाँच दशकभन्दा लामो समयदेखि एसीयूले पुर्याउँदै आएको योगदानको प्रशंसासमेत गरे ।
सन् १९७४ मा स्थापना भएको एसियन क्लियरिङ युनियनमा नेपालसहित ११ मुलुकका केन्द्रीय बैंक आबद्ध छन् । अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यले स्थापित युनियनको सचिवालय इरानको तेहरानमा रहेको छ ।
नेपालले अध्यक्षता पाएसँगै अन्तरदेशीय भुक्तानी सहकार्यमा नेपालको संस्थागत भूमिका थप विस्तार हुने अपेक्षा गरिएको छ ।


























