काठमाडौँ – नेपालद्वारा निर्मित ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि नेपाल र छिमेकी राष्ट्र भारतबिच सम्झौतामा हस्ताक्षर भएको छ । भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको जानकारी दिएका छन् ।
सम्झौतामा मन्त्रालयको तर्फबाट भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्न उच्च अधिकारी सहसचिव अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार नास्टको आयोजनामा नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा निशुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।
गत पुस १९ गते नेपाल–भारतबीचको संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो । भारतीय विदेशमन्त्री एस जयशंकर सहभागितामा नेपाल र भारतबीच उक्त सहमति भएको थियो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया ९एनएसआइएल० बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहन मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको थियो ।




























































