काठमाडौं – आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, २०८३) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई आकर्षक उपहार प्रदान गरिने भएको छ ।

प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्तालाई लक्की ड्रमार्फत विभिन्न कृषि सामग्री उपहार प्रदान गरिने आयोजकले जनाएको छ । लक्की ड्रबाट छनोट हुने विजेताले कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, मकै छोडाउने विद्युतीय मेसिनलगायत साना कृषि औजार तथा उपकरण प्राप्त गर्नेछन् । त्यस्तै, लक्की ड्रका प्रमुख विजेतालाई प्रदर्शनीको अन्तिम दिन मिनी ट्रेलर उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।


ADVERTISEMENT

#


‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।


ADVERTISEMENT

#
#


तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा कृषि व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।