काठमाडौंं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक शक्ति बनाउने सङ्कल्पका साथ निर्वाचनको तयारी गर्न पार्टीपङ्तीलाई निर्देशन दिएका छन् ।
बिहीबार काठमाडौंमा राष्ट्रिय भेला समापन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, देशको रक्षा, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सिमा तथा भूमिको रक्षाका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने भन्दै त्यसै अनुसार तयारी गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस्स, आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे । अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई बिस्थापन भयो भनेर बुझ्नु नहुने बताए । अध्यक्ष ओलीले समाजलाई सबै भ्रमहरुबाट मुक्त गर्ने कामको अगुवाई एमालेले गर्ने धारणा राखे ।
ओलीले आगजनी, तोडफोड, हिंसा, आतङ्क, लुटपाट जस्ता गतिविधिमा संलग्न वा ब्याकिङमा रहेका शक्तिहरूलाई प्रतिद्वन्द्वीका रूपमा औंल्याउँदै अरूसँग मिलेर पनि त्यस्ता शक्तिलाई हटाउन सकिने उल्लेख गरिएको गरे ।
उनले स्थानीय तहको प्रतिनिधिको कार्यकाल पाँच वर्ष हुने भएकाले दुई–तीन महिना अगाडि नै निर्वाचन सार्ने कुरा उपयुक्त नहुने स्पष्ट अडान निर्वाचन आयोग समक्ष राखिने जिकिर गरे । अध्यक्ष ओलीले पार्टीभित्र हस्तान्तरण र पुस्तान्तरणको कुरा गरिए पनि एउटा पद पाएपछि तल्लो पदमा बस्न कोही तयार नहुने अवस्था देखिएको बताए । काम गर्न नसकिने अवस्था आएमा ठाउँ छोडेर नयाँलाई अवसर दिनुपर्ने र कामको मूल्याङ्कनका आधारमा अघि बढ्नुपर्ने उनले बताए ।
उनले अघिल्लो केन्द्रीय कमिटी बैठकलाई ’कटअफ’ बैठक मान्दै त्यसअघिका अनुशासनहीन गतिविधि वा सामाजिक सञ्जालका विषयमा क्षमा दिइए पनि अब उप्रान्त अनुशासन उल्लङ्घन भए कारबाही हुने स्पष्ट पारे ।


























