काठमाडौँ– टाटा मोटर्सका व्यावसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा. लि. को आधिकारिक डिलर शशिला मोटर्स प्रालिले गाडी खरिदका लागि अनलाइन सुविधा दिने भएको छ । प्रालिले कोरोना भाइरसका कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको हो ।
यससँगै अब उपभोक्ताले टाटाका व्यावसायिक गाडीहरू सजिलै अनलाइनबाटै खरिद गर्न सक्नेछन् । प्रालिले www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो । यसअघि केही कम्पनीहरूले निजी कार अनलाइनबाट खरिद विक्री गर्ने गरेको भए पनि व्यावसायिक गाडीहरूमा यस्तो सुविधा थिएन ।
वेबसाइट शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद बिक्री गर्न यो भर्चुअल शोरूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।
शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताए । अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ ।
वेबसाइट भित्रको भर्चुअल शोरुममार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुनसुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन् । यो सेवाअन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ व्यावसायिक गाडीहरू अनलाइनमै बुकिङ गरि खरिद गर्न सकिनेछ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधाबाहेक पुराना गाडीसमेत खरिद बिक्री गर्न पाउनेछन् ।



























































