काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक अस्थिरताको असर मुलुकको अर्थतन्त्रमा परेकाले स्थिर सरकार बनाउनुपरेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले वर्षमा तीनपटक अर्थमन्त्री फेरिने अस्थिरताको अवस्थाले मुलुकको अर्थतन्त्र लगायतका क्षेत्रमा नकारात्मक असर परेको भन्दै स्थिर सरकार बनाउनुपरेको बताएका हुन् । उनले अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी राकिने बताए ।
“आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गएपनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ”, अर्थमन्त्री पौडेलले भने, “केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।” उनले आफूहरुले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताए । अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उनको भनाइ थियो ।
बाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको र प्रयाप्त तरलता हुँदाहुँदै पनि लगानी बढ्न नसकेको अवस्थालाई सबै मिलेर अन्त्य गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले अहिलेको मौद्रिक नीति लचिलो रहेको र अर्थतन्त्रको समस्या समाधानका लागि केही योगदान पुग्ने विश्वास व्यक्त गरे । अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सरकारको कदम प्रयाप्त नभएको देखिएकोले सरकार निजी क्षेत्रलाई साथमा लिएर सशक्त ढंगले अघि बढ्न तयार रहेको उनले बताए ।
“अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईंहरुका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ”, उनले भने, “निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।” चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रुपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए ।
त्यस्तै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रको मनोबललाई उच्च राख्न केही आधारशीला तयार भएको भन्दै यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने धारणा राखे । चालू आर्थिक वर्षको सुरुमै पूजीगत खर्च राम्रो देखिएको, राजस्व संकलन सकारात्मक, कर्जा प्रवाहले समेत राम्रो संकेत देखाएको उनले बताए । उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारसंग समन्वय गरेर आवश्यक ऐन कानुनको सुधारमा ध्यान दिएको उल्लेख गरे ।
त्यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सेयर लगाएतका घरजग्गा लगाएतका क्षेत्रमा देखिएका सकारात्मक संकेतलाई दिगो बनाउनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने कामले अर्थतन्त्रमा असर पर्न सक्ने उनको भनाइ छ ।



























































