काठमाडौँ – युएईविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल आईसीसी यू–१९ महिला विश्वकपमा छनोट भएको छ । युएईमा सम्पन्न आईसीसी यू–१९ एशिया क्षेत्र छनोट क्रिकेट प्रतियोगिताको अन्तिम र निर्णायक खेलमा युएईलाई विकेटले हराउँदै नेपाल पहिलो पटक यू–१९ महिला विश्वकपमा छनोट भएको हो ।
युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिले ब्याटिङ युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन बनायो । नेट रनरेटमा पछि रहेकाले नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमै ८४ रन पूरा गर्नुपर्थ्यो । तर, नेपालले १४.४ ओभरमै २ विकेट गुमाएर ८६ रन बनाउँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
६ खेलमा ५ जित र १ हारसहित समान १० अंक भए पनि युएई भने नेपाल भन्दा कम रनरेटका कारण विश्वकप खेल्नबाट बञ्चित भएको छ । नेपालको रनरेट ३.९३५ रह्यो भने युएईको ३.७४० मै रोकियो । नेपालको ऐतिहासिक जितका लागि साना प्रवीनले सर्वाधिक ३५ रन बनाइन् । नटआउट रहेकी उनले ४२ बलमा १ चौका प्रहार गरिन् ।
यस्तै कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको मदतमा २१ रन जोडेर आउट भइन् भने उपकप्तान सोनी पाख्रिनले १९ बलमा नटआउट १३ रन बनाइन् । यस्तै साबित्री धामीले ९ बलमा १ चौकाको मदतमा १२ रन जोडिन् । बलिङतर्फ युएईकी मेहक ठाकुरले २ विकेट लिइन् । अन्य बलर विकेटविहीन बने ।
यसअघि युएईका लागि कप्तान समिका धरणीधरकाले सर्वाधिक ३१ रन हानिन् । ४८ बल खेलेकी उनले एक चौका प्रहार गरिन् । यस्तै रिनिथा रजितले २०, लाभन्या केनीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ नेपालकी कृष्मा गुरुङले सर्वाधिक ४ विकेट चट्काइन् । ४ ओभर बलिङ गरेकी उनले १७ रन खर्चिइन् । यस्तै रिया शर्मा र सीमा केसीले समान २–२ विकेट लिए भने रचना कुमारी चौधरीले १ विकेट हात पारिन् ।
महिला यू–१९ विश्वकप एशिया क्षेत्र छनोटको च्याम्पियन बनेसँगै नेपालले आगामी वर्ष मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकप खेल्नेछ ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई १०८ रनले स्तब्ध पारेको थियो । यस्तै तेस्रो खेलमा युएईसँग १३ रनले हारेको नेपाल उत्कृष्ट पुनरागमन गर्दै चौथो खेलमा थाइल्याण्डलाई १०६ रनले तथा पाँचौँ खेलमा कुवेतलाई १६५ रनले पाखा लगाएको थियो ।



























































