काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत भनेका छन्, “महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल ।”


ADVERTISEMENT


आज संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा भएको खेलमा आयोजक युएईमाथि आठ विकेटको ऐतिहासिक जीत निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यु–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।


ADVERTISEMENT

# # #


विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागिसमेत नेपाल छनोट भएको हो । यु–१९ एसिया कप क्रिकेटमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् । रासस