काठमाडौँ– प्रहरीले मानव बेचबिखन आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला नुवाकोट तादी गाउँपालिका–५ की ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोक चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भन्ने माईला लामा तामाङ रहेका छन् ।
उनीहरुविरुद्व कुवेतमा फ्रि भिषा फ्रि टिकटसहित मासिक १२० के.डी आउने गरी घरेलु काममा लगाईदिने प्रलोभन देखाई युएई हुँदै कुवेत लगेर मानव बेचबिखनको आरोप छ । प्रहरीका अनुसार, उनीहरुले पिडितलाई २०८० सालको साउनको दुबई लगेर भोलिपल्ट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याई कुवेती घरमा ९०० के.डि.मा बेचबिखन गरेको खुल्नमा आएको छ ।
कुवेती घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरी राखेको अवस्थामा पिडित त्यहाँबाट फुत्केर भागेपश्चात् प्रहरीको पुगेकी थिइन् । त्यसपछि २०८१ साल कार्तिक ९ गते नेपाल फर्किन सफल भएकी थिइन् ।
नेपाल आएपछि पिडितले आरोपीहरुविरुद्व मंसिर ४ गते मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल काठमाडौँमा जाहेरी दिएकी थिइन् । त्यसैअननुरुप पक्राउ परेका कँडेल र तामाङविरुद्व काठमाण्डौ जिल्ला अदालतबाट म्यादथप अनुमति लिई आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



























































