सर्लाही– सर्लाहीमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।
गएराति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको अवस्थामा रामनगर गाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए । सोही क्रममा स्थानिय युवासंग झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी हवाई फायर गरेको जनाएको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो । ‘चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो’ मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोरालेभने, ‘उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको छ।’ उनका अनुसार, रायको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।
यता वडाध्यक्ष श्रीनन्दन यादवले भने आरोपको खण्डन गर्दै प्रहरीले चेकिङको नाममा स्थानीयसँग रकम असुलेको र केहीलाई हिरासतमा राखेको गुनासो आएपछि आफू सो स्थानमा पुगेको बताएका छन् । आफूले मापसे नगरेको र प्रहरीलाई आक्रमण पनि नगराएको उनको भनाइ छ । बरु लोकल केटाहरुसँग प्रहरीको लफडा भएपछि आफूले छुट्याएको उनको भनाई छ ।