काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् ।
भारतको नयाँदिल्लीमा आयोजित नेपाल–भारत व्यापार मञ्चलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रमा नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको बताएका हुन् ।
सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । यातायात र सूचना प्रविधिमा भारतले हासिल गरेको प्रगतिबाट सिक्दै दुवै देशले सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा भारतका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार र लगानीका क्षेत्रमा साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ तथा लगानी बोर्ड नेपालका प्रतिनिधिसहित दुवै देशका उद्योगी–व्यवसायी सहभागी कार्यक्रममा लगानीका सम्भावनाबारे छलफल भएको थियो ।
नेपाल–भारत आर्थिक साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।


























