काठमाडौं – हुंकार मधेशले आगामी मंसिरको पहिलो सातादेखि मेची–महाकाली ‘हुंकार हुलाकी यात्रा’ सञ्चालन गर्ने भएको छ । राजनीतिक निराशा अन्त्यदेखि मौलिक ज्ञान प्रणाली, पूर्वीय दर्शन र नेपालको राजनीतिक अन्तर्द्वन्द्वको समाधानसम्मका विषयमा बहस तथा संवाद गर्ने उद्देश्यसहित यात्रा गर्न लागिएको संगठनले जनाएको छ ।
यात्राका क्रममा पछिल्लो समय राजनीतिप्रति बढ्दै गएको निराशाको कारण र त्यसको समाधान, राजनीति दल तथा नेताहरू कस्ता हुनुपर्ने, नेपालको राजनीतिक समस्याको निकास र समाजमा विद्यमान विभिन्न समस्याको समाधानका उपायबारे छलफल गरिनेछ ।
त्यस्तै, पूर्वीय दर्शन, सभ्यता, मौलिक ज्ञान प्रणाली तथा सनातन संस्कृतिबारे गहन संवाद गर्ने कार्यक्रम पनि तय गरिएको छ । संघीय लोकतान्त्रिक हिन्दु गणराज्यको अवधारणाबारे बहस गर्नुका साथै आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट हुनुपर्ने विषयमा जनमत तयार गर्ने उद्देश्यसमेत यात्राले लिएको छ ।
यसैबीच, हुंकार मधेशले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ । कार्तिक ९ गते बसेको केन्द्रीय सचिवालय बैठकले जिल्लागत सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको संगठनले जनाएको छ ।
गत असोज ९ गते घोषणा भएको हुंकार मधेशले यसअघि केन्द्रमा सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुख घोषणा गरिसकेको छ । हुलाकी यात्रालाई लक्षित गर्दै अहिले विभिन्न जिल्लामा तयारी बैठक तथा संगठनात्मक गतिविधि तीव्र पारिएको छ ।
यसैगरी, संघीय लोकतान्त्रिक हिन्दु गणराज्यको अवधारणा, पूर्वीय दर्शन र नेपाली सभ्यताको मौलिक पहिचानलगायतका विषयलाई पनि यात्राको प्रमुख बहसका रूपमा अघि सारिनेछ। यात्राले राजनीतिक र वैचारिक बहसमा मात्रै सीमित नभई समाजमा विद्यमान विभिन्न खाले समस्या पहिचान गर्दै तिनको समाधानका उपाय खोज्ने लक्ष्यसमेत राखेको छ। स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गरी जनचासोका विषयलाई बहसमा ल्याउने आयोजकको तयारी छ।
त्यस्तै, आगामी स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने विषयमा जनमत निर्माण गर्ने तथा स्थानीय शासन प्रणालीलाई कसरी प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरिने कार्यक्रम रहेको छ।
नातन संस्कृति, मौलिक सभ्यता र राष्ट्रिय पहिचानका विषयमा गहन विमर्श गर्दै नागरिकस्तरमा वैचारिक जागरण सिर्जना गर्ने लक्ष्यसहित यात्रा आयोजना गर्न लागिएको हो।
मेचीदेखि महाकालीसम्म हुलाकी मार्गलाई संवाद, बहस र जनजागरणको माध्यम बनाउने उद्देश्य राखिएको यस यात्राले नेपालको राजनीतिक, सांस्कृतिक र सामाजिक विमर्शमा नयाँ बहसको सुरुवात गर्ने अपेक्षा गरिएको छ।




























