काठमाडौं । भूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले मोबाइलमार्फत तत्काल चेतावनी दिने नयाँ प्रविधि ‘सेल ब्रोडकास्ट प्रणाली’ परीक्षण गर्ने भएको छ ।

सोमबार काठमाडौं उपत्यकाका मोबाइल प्रयोगकर्तामाझ यो प्रणालीको परीक्षण गर्न लागिएको हो । परीक्षणका क्रममा केही मोबाइलमा आवाजसहित आपतकालीन सतर्कता सन्देश देखिन सक्ने भएकाले सरकारले त्यस्ता सन्देशबाट नआत्तिन आग्रह गरेको छ ।


ADVERTISEMENT

# #


सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गर्दै नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको परीक्षण भइरहेको जनाएका छन् । परीक्षण सन्देश प्राप्त भएमा कुनै कदम चाल्न आवश्यक नरहेको पनि मन्त्रालयले स्पष्ट पारेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट प्रणालीको परीक्षण भइरहेको छ । प्रारम्भिक चरणमा सीमित मोबाइल प्रयोगकर्ताको सेटमा मात्रै सन्देश पुग्न सक्ने उहाँले बताउनुभएको छ ।


ADVERTISEMENT

#
#


गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रभावित क्षेत्रमा मोबाइलमार्फत सतर्कता सन्देश पठाइएको थियो । तर, कतिपय प्रयोगकर्ताले समयमै सन्देश नदेखेको र सूचना प्रभावकारी रूपमा प्रवाह हुन नसकेको विषय उठेपछि सरकारले नयाँ प्रणालीको परीक्षण अघि बढाएको हो ।

इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) का अनुसार सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक चेतावनी सन्देश पठाउन सकिन्छ । यस प्रणालीमा मोबाइलको स्क्रिनमा सूचना देखिनुका साथै आवाज र भाइब्रेसनमार्फत पनि प्रयोगकर्तालाई सचेत गराइन्छ ।

प्राकृतिक विपद् तथा प्रतिकूल मौसमका बेला जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सूचना पुर्‍याउन यो प्रविधि प्रभावकारी हुने अपेक्षा गरिएको छ । प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि विपद्का समयमा सूचना प्रवाहलाई थप छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।