काठमाडौँ– बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मिएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुन् ।
सानै उमेरदेखि महिला अधिकारका निम्ति सक्रिय खानलाई २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टीले समानुपातिकतर्फ मुस्लिम महिलाको कोटाबाट प्रतिनिधिसभाको सांसद बनाएको छ । सो पार्टीबाट मुस्लिम महिलातर्फ निर्वाचित मञ्जु अन्सारीको गत चैतमा निधन भएपछि बन्द सूचीको क्रमानुसार खानलाई पार्टीले सांसद बनाएको थियो । पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीसमेत बनिसकेकी सांसद खानसँग राससका समाचारदाता सुशील दर्नालले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
महिलाका विषयमा संविधानमा केही अधिकार सुनिश्चित गरिएको छ । तर धेरै अधिकार सुनिश्चित गर्नुपर्ने छ । संसद्मा महिलाको ३३ प्रतिशत सुनिश्चित गरिएको छ । तर त्यही कुरा सरकार बनाउने सवालमा लागू भएको छैन । अब सरकारमा महिलाको जनसङ्ख्याका आधारमा ५० प्रतिशत सहभागिता हुने सवाल संविधानमै व्यवस्था गर्नुपर्ने छ । त्यसका लागि राजनीतिक पार्टीको पनि भूमिका हुन्छ । महिला अब आफ्नो अधिकारका निम्ति आफैँ लड्नुपर्छ । तर पहिलेको तुलनामा महिलाका विषयमा सुधार हुँदै गएको छ ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पहिलोपटक महिला देशको राष्ट्रपति पनि बन्नुभएको छ । सभामुख पनि बन्नुभएको छ । प्रधानन्याधीश पनि बन्नुभएको छ । सरकारको मुख्यसचिव पनि बन्नुभएको छ । तर मन्त्रिपरिषद्मा महिलाको सङ्ख्या जहिल्यै न्यून हुन्छ । २५ सदस्यीय सङ्घीय सरकार गठन हुँदा एक–दुई जनामात्र मन्त्री बन्ने कुरा न्यायोचित छैन । देशमा अहिले पनि पुरुषभन्दा महिलाको संख्या धैरै छ । तर सहभागिता न्यून छ । चुनावमा पनि राजनीतिक पार्टीले सक्षम महिलाका लागि टिकटको व्यवस्था गर्नुपर्छ । महिलाले चुनाव जित्न सक्दैनन् भनेर पार्टीले रोक्नु हुँदैन । पार्टीले टिकट दिएपछि महिलाले चुनाव जितेका धेरै उदाहरण छन् ।
यो देशमा सबैभन्दा पहिला महिलालाई आर्थिक रूपमा बलियो बनाउनुपर्छ । जबसम्म महिलाहरूको आर्थिक रूपमा पहुँच हुँदैन, तबसम्म देश समृद्ध बन्छ जस्तो मलाई लाग्दैन । रोजगारीका सवालमा राज्यले पनि महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ । उद्यमशील बन्न चाहने महिलाका लागि सरकारले लगानी गर्नुपर्छ । सरकारले महिलाका लागि सानो वा ठूलो जस्तोसुकै काम भए पनि दिनुपर्छ । सम्पत्तिमा पूर्ण हक हुनुपर्छ । अनि मात्र महिला–पुरुष बराबरीको बाटोमा अगाडि बढ्न सक्छन् । अधिकारका निम्ति महिला आफैँ सक्रिय बन्नुपर्छ । अर्को कुरा यदि कुनै पनि बच्चाको बाबु छैन भने उसले आमाको नामबाट नागरिकता बनाउन पाउनुपर्छ ।
नागरिकता नभएपछि ऊ देशको नागरिक बन्न पाउँदैन । त्यसैले आमाको नामबाट नागरिकता दिने सवालमा सबै गम्भीर भएर लाग्नुपर्छ । यदि आमाको नागरिकता छभने बच्चाको नागरिकता सहज रूपमा बन्नुपर्छ । बाँके जिल्लाका महिलाको यो समस्या धैरै नै छ । महिलामाथि हुने हिंसा रोक्न सरकारले कडाभन्दा कडा कानुन बनाएर व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ । अहिले पनि नेपाली छोरीहरू असुरक्षित छन् । किशोरीमाथि बलात्कारका घटना भइरहेको छ । बलात्कारपछि हत्या गरेर मारिएको छ । मुख्य कुरा किशोरीहरू जहाँ, जतिबेला पनि सुरक्षित हुनुपर्छ । महिलामाथि हुने घरेलु हिंसाका घटना पनि छन् । घरेलु हिंसा गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सबैभन्दा पहिला महिला माफैँ सक्रिय हुनुपर्छ । कुनै पनि किशोरी वा महिलाले आफ्नो सुरक्षा आफैँ गर्न सक्ने बन्नुपर्छ । महिलाले कुनै पनि हिंसा खपेर बस्नु हुँदैन । यदि हिंसा भएको छभने प्रहरीमा उजुरी गर्न सक्नुपर्छ । तर बाँकेका महिलामा घरेलु वा अन्य प्रकारका हिंसा भइरहेको छ । तर उनीहरु त्यो हिंसालाई लिएर बाहिर आउन चाहँदैनन् । आफूमाथि भएको विभेद वा हिंसाका बारेमा खुलेर कुरा गर्न सक्नुपर्छ महिलाहरूले । आफूमाथि हिंसा भएको छभने लाज वा डर मानेर बस्नु हुँदैन ।
म प्रतिनिधिसभाको सांसद भएको एक वर्ष भयो । सांसद भएलगत्तै म स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हुँदै गर्दा स्वास्थ्यको क्षेत्रमा आफूले सकेको काम गरेको थिएँ । पैतालीस दिनमात्र राज्यमन्त्री भएको समयमा पनि जनतासँग जोडिएका स्वास्थ्यका समस्यालाई सकेसम्म सम्बोधन गर्ने कोसिस गरेकी थिएँ । बाँकेका मुख्य समस्या भनेको बाटोघाटोको हो । खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको पनि उत्तिकै समस्या छ । यहाँ अधिकांश युवा बेरोजगार हुनुपरेको छ । युवाहरूको काम छैन, चोकचोकमा गफ गरेर समय बिताइरहेका छन् । युवालाई रोजगारी दिनेगरी कुनै सरकारले ठोस योजना बनाउनसकेका छैनन् । रोजगार नभएपछि युवा कुलतमा लागेका छन् । धेरै पढेलेखेका मानिस बेरोजगार बस्नुपरेको छ । बाँके पर्यटकका लागि पनि सम्भावना भएको जिल्ला हो । तर त्यसको राम्रो व्यवस्थापन हुनसकेको छैन ।
‘बाँके राष्ट्रिय निकुञ्ज’मा घुम्नका लागि देश–विदेशबाट पर्यटक आउँछन् । एक आर्थिक वर्षमा आन्तरिक र बाह्य पर्यटक गरी कम्तीमा हजारभन्दा बढी पर्यटक आउने गर्छन् । निकुञ्जमा आउने पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको छ । तर सम्बन्धित निकायले त्यसलाई अझै व्यवस्थित गर्न सकेको छैन । त्यसको व्यवस्थापन र संरक्षणमा अझै बढी ध्यान दिने होभने पर्यटकको सङ्ख्या अझै बढेर जाने देखिन्छ । निकुञ्जभित्रका प्राकृतिक सम्पदा र वन्यजन्तुको संरक्षणमा सरकारको ध्यान जानसकेको छैन । संविधान केही हदसम्म कार्यान्वयन भएको छ । तर धेरै कुरा कार्यान्वयन हुनसकेको छैन । तर अब सबै मिलेर कार्यान्वयन गर्नुपर्छ । अहिलेको सङ्घीयतालाई सुधार गर्नुपर्ने छ । यो सङ्घीयता अलि बढी खर्चिलो भयो कि भन्ने कुरा पनि आइरहेको छ ।
फूलबारीमा मेला
लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारनको रुखमा वैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्छन् र दिन ढल्दै जाँदा उक्त माला विस्तारै मौलाउँदै जान्छन् । अचम्मको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य श्रद्धालु आउने र मेला भर्ने गर्दछन् ।
किम्वदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जन विश्वास छ । मेलाको दिन दर्जनौं युवायुवतीको जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन् ।
सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिकस्थलको खोजी गरी सरकारले सो संरक्षण गर्नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सक्ने प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रदेव कामती बताउँछन् ।
यो मात्र एउटा यस्तो देउता हो जसलाई सबै समुदायका मान्छेले पुज्ने गर्छन् । राजा सलहेसको गथालाई जीवन्तता दिन अहिले पनि गाउँ–गाउँमा गीत र महराइमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ ।
आफ्ना समयमा पराकर्मकै बलमा नागरिकलाई सुशासनको प्रत्याभूति गराउने लोक देउवा सलहेसको जीवन गाथासँग जोडिएको धार्मिक तथा ऐतिहासिकस्थल सलहेस फूलबारी, मानिकद, पकरिया गढ, पतारी पोखरीको विकासमा सरकारले ध्यान दिनसके यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुनुको साथै ग्रामीण अर्थतन्त्रको विकासमा थप टेवा पुग्ने देखिन्छ ।
उनले मिथिलाका यस्ता गौरवशाली इतिहास बोकेका धरोहरको संरक्षण सम्बर्द्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने बताउँछन् ।
राष्ट्रिय गौरवको रुपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरमा प्रचारप्रसार गर्नसके यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको धार्मिक पहिचान बनाउन सक्नेमा कोसेढुङ्गा सावित हुने डेली एक्सप्रेस दैनिक जनकपुरका कार्यकारी सम्पादक सञ्जीवकुमार झा बताउँछन् ।
बिहानीपख फुल्ने र साँझपख मौलाएर जाने यस्तो अनौठो फूलको वैज्ञानिक अनुसन्धान हुनुपर्ने कार्यकारी सम्पादक झाको भनाइ छ । रासस