काठमाडौँ — नारायणी अस्पताल, वीरगंजको तत्कालीन निर्देशक डा. सञ्जय ठाकुर सहित अन्य विरुद्व मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्व अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा करिब १ करोड ८४ लाख रुपैयाँको भ्रष्टाचार भएको भन्दै तत्कालीन अस्पताल निर्देशक विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाइएको, प्रतिस्पर्धा सीमित पारिएको र राज्यलाई आर्थिक नोक्सानी पुर्याइएको ठहर गरेको हो।
आर्थिक वर्ष २०७७/७८ मा भएको निर्माण कार्यमा सहायक काम (इन्टर ब्लक बिछ्याउने) लाई मुख्य आइटमका रूपमा देखाएर अन्य प्रस्ताव अस्वीकृत गराई लक्षित निर्माण कम्पनीलाई मात्र ठेक्का दिने गरि प्रक्रिया अघि बढाइएको आरोप छ।
ठेक्काको मूल्याङ्कन प्रक्रियामा बदनियतपूर्वक सामान्य प्राविधिक विवरणलाई आधार बनाई अन्य प्रतिस्पर्धीलाई असफल घोषित गरिएको बताइएको छ।
आयोगले यसले सार्वजनिक संस्थालाई प्रत्यक्ष आर्थिक हानि पुर्याएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो।



























































