काठमाडौँ– युगकवि सिद्विचरण श्रेष्ठको ११४ औं जन्मजयन्ती, उनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जन्मजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाको योगदानको स्मरण गरिएको छ । सो क्रममा प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित उनले नेपाली साहित्यमा पुर्याएको सिर्जनात्मक र क्रान्तिकारी योगदान बारे परिचर्चा गरिएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले युगकवि सिद्धिचरण श्रेष्ठलाई निरङ्कुश राणाशासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन सफल व्यक्तित्वको रूपमा चित्रण गरे ।
वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गामा जन्मिएका श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले परिचित छन् । श्रेष्ठले आफ्नो जन्मभूमिको सम्झनामा लेखेको ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता निकै चर्चित छ । उनका ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु पनि उत्तिकै चर्चामा छन् ।
उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति छन् । विसं १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखेवापत तत्कालीन सरकारले उहाँलाई १८ वर्षको जेल सजाय तोकेको थियो । श्रेष्ठको २०४९ जेठ २२ गते काठमाडौँको धर्मपथस्थित आफ्नै निवासमा निधन भएको थियो ।