काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउदै गृहमन्त्रीको राजिनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


आइतबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजिनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताएका हुन् । यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृह मन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजिनामा दिन सुझाव दिएका थिए ।


ADVERTISEMENT

# # #


नेता सिटौलाले विगतमा मन्त्रीहरु माथि नै कुरो उठेकोले राजिनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।

उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह आवश्यक नभएको बताउदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समिक्षा गरेर संसोधन आवश्यक भएको जनाए ।

सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि संघिय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संसोधन गरेर थप परिमार्जित गर्नुपर्ने उनले जनाए । त्यस्तै सिटौलाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दशैंको आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए ।