काठमाडौँ – नेकपा एमालका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न असम्भव रहेको बताएका छन् ।
बुधबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानविन समिति पनि गठन हुन नसक्ने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘संसदमा गृहमन्त्रीलाई सुन्नै तयार नहुने र गृहमन्त्रीलाई लगातार राजीनामा र छानबिन समितिको जे अडान राखिरहनु भएको छ, यो कुरा गलत छ । त्यसैले म प्रष्ट शब्दमा भन्न चाहन्छु, उहाँहरुले उठाउनुभएको विषय असम्भव छ ।’
उनले गृहमन्त्रीलाई संसदबाट जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने धारणा राखे ।
संसदको गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रुपमा अपरिपक्व तरिकाले राखेको बिषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए । बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसदलाई बन्धन बनाउन नमिल्ने धारणा राखे ।