काठमाडौं – सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि. आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र आर्थिक वर्ष २०८१/०८२ मा सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आयोजित विशेष समारोहमा कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो। कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरिएको हो।
सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्डका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनको नेतृत्वमा कम्पनीले हासिल गरेको यो उपलब्धि निजी क्षेत्रको व्यावसायिक सफलता र राज्यप्रतिको आर्थिक दायित्व निर्वाहको उदाहरणका रूपमा समेत हेरिएको छ।
राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन पाउनु गौरवको विषय भएको कम्पनीले जनाएको छ। प्राप्त सम्मानले आगामी दिनमा अझ बढी उत्तरदायी र पारदर्शी हुँदै लगानी तथा वित्तीय सेवाको विस्तार गर्न थप ऊर्जा र प्रेरणा मिलेको कम्पनीको विश्वास छ।
सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले समेत विगतमा आ–आफ्नो कार्यक्षेत्रबाट उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्दै आएका छन्। यसले समूहको समग्र व्यावसायिक अनुशासन, करप्रतिको प्रतिबद्धता र संस्थागत जिम्मेवारीलाई प्रतिबिम्बित गरेको छ।
कर दाखिला सरकारको राजस्व संकलनमा मात्र सीमित नभई विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र समग्र आर्थिक समृद्धिमा निजी क्षेत्रको सहभागितासमेत हो। यस अर्थमा सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्डले प्राप्त गरेको सम्मानलाई कम्पनीको व्यावसायिक उपलब्धिसँगै राज्यप्रतिको जिम्मेवारी पूरा गरेको महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।
यस सफलताका लागि संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनसहित कम्पनीको सम्पूर्ण टिमलाई बधाई तथा आगामी दिनमा थप व्यावसायिक सफलता, प्रगति र उन्नतिको शुभकामना व्यक्त गरिएको छ।



























