काठमाडौँ– नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ ।
आज भएको सेमिफाइनल म्याचमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।
फाइनल खेल शनिबार हुनेछ ।





























































