काठमाडौं- निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

कार्कीले आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय बदर गरी पुनः प्रहरी महानिरीक्षकमा बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको छ ।


ADVERTISEMENT

# #


यसअघि पनि कार्कीको रिटमा दुई पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । गत मंसिर ७ गते न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी परेको थियो । तर, कार्कीपछि आईजीपी नियुक्त भएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै सुनुवाइ मंसिर ९ गतेका लागि सारिएको थियो ।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।


ADVERTISEMENT

#
#


यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।