राहुल गुप्ता, परवानीपुर (बारा)– जिल्लाको परवानीपुर गाउँपालिका–५ अन्तर्गत बहुअरीका युवा नेता हरिओम पटेलले “मिशन २०८४” अन्तर्गत गाउँपालिकाको मेयर पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा रहेका पटेल हाल नेपाल तरुण दलका सहसचिवको जिम्मेवारीमा छन्।
समाजसेवा, युवाप्रेरणा र विकासप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिंदै आएका पटेलले अबको नेतृत्व नयाँ सोच, नयाँ ऊर्जा र जनमुखी योजनासहित अघि बढ्नुपर्ने बताए। “अब हाम्रो गाउँपालिका रूपान्तरणको चरणमा छ। यो परिवर्तनको नेतृत्व हामी युवाले गर्नुपर्छ,” उनले भने।
हरिओम पटेल लामो समयदेखि कांग्रेस पार्टीभित्र क्रियाशील रहँदै आएका छन्। वडा र गाउँपालिकास्तरमा उनले सञ्चालन गरेका विकास, सामाजिक तथा शिक्षा सम्बन्धी कार्यक्रमले जनताको मन जित्दै आएको छ। युवाहरुको समुह, बौद्धिक वर्ग र सर्वसाधारणमा उनको लोकप्रियता दिनानुदिन बढ्दो छ।
नेतृत्वमा युवा, सोचमा नवीनता
पटेल युवा नेतृत्व विकास, संगठन सुदृढीकरण, र राजनीतिलाई इमानदारी र सेवामूलक दृष्टिकोणले अघि बढाउने अभियानमा सक्रिय छन्। उनले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि र रोजगारीमा आधारित कार्यक्रमको कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन् ।
स्थानीय तहमा विश्वस्त, कर्मठ र नयाँ पुस्ताको नेतृत्व चाहिएको जनताले महशुस गरिरहेका बेला पटेलको उम्मेदवारीले परवानीपुरको राजनीतिक परिदृश्यमा उत्साह थपेको छ। ‘हामी केवल चुनाव जित्न होइन, गाउँ जित्न चाहन्छौं – विश्वास जित्न चाहन्छौं’, हरिओमले बताए।
निष्कर्षमा, बहुअरी निवासी पटेलको मेयर पदका लागि उम्मेदवारी नेपाली कांग्रेस भित्र मात्र नभई समग्र परवानीपुरवासीको लागि एउटा नयाँ विकल्पको रूपमा उदाएको देखिन्छ।