काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् । गुरु पद्मसम्भवको जन्म दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बुद्ध जन्मस्थल भएका नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको सङ्ख्या बढिरहेको उल्लेख गरे ।


ADVERTISEMENT


मन्त्री पाण्डेले भने, “हामी बुद्ध र वेदको धरोहर बोकेको देशका नागरिक हौँ, यो पहिचानलाई थप सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।”


ADVERTISEMENT

# # #


उनले गुरु पद्मसम्भवले हिमाली बौद्ध परम्परालाई अघि बढाउनुका साथै बौद्ध दर्शनको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गरेको बताए । उनको योगदान विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्त्वपूर्ण आधार भएको पनि मन्त्री पाण्डेको भनाइ थियो ।

“पहिलोपटक गुरु पद्मसम्भवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम हो । यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयाग हुनेछ”, उनले भने।

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई संसारले अझै पनि ग्रहण गरिरहेको चर्चा गरे । “भौतिक सम्पन्नताले एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तरमनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ । त्यसैले बुद्ध शिक्षा झनै सान्दर्भिक बन्दै गएको छ”, उनको भनाइ थियो ।