काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ र उनको परिवारसँग सम्बन्धित बैंकिङ कर्जा अपचलन तथा आर्थिक अनियमितताका विषयमा सार्वजनिक भएका समाचारमा गलत र भ्रामक तथ्य प्रस्तुत गरिएको जनाइएको छ। बैंकिङ क्षेत्रको एक जानकारका अनुसार बानियाँका परिवारसँग सम्बन्धित विभिन्न कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नियमित अवस्थामा रहेको छ ।
कुनै पनि कर्जा खराब कर्जामा परिणत नभएको र कर्जा असुलीका लागि बैंकले ताकेता गर्नुपर्ने वा धितो लिलाम गर्नुपर्ने अवस्था नरहेको जनाइएको छ । बैंकबाट कर्जा लिँदा जग्गाजमिन, शेयर तथा व्यक्तिगत जमानीलगायत आवश्यक सुरक्षण राखिएको र प्रचलित बैंकिङ प्रक्रिया पूरा गरेरै कर्जा प्रवाह भएको र कम्पनीका सम्पूर्ण आर्थिक कारोबारसमेत बैंकिङ प्रणालीमार्फत नै भएको दाबी गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भूगर्भ सिमेन्ट, बानियाँ निर्माण सेवा र बानियाँ सप्लायर्स गरी तीनवटा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जासम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा बानियाँ निर्माण सेवाका सञ्चालक प्रहरी हिरासतमा छन् । कम्पनीको आर्थिक कारोबारका क्रममा सञ्चालकले पुँजी थप्ने, आवश्यकताअनुसार रकम उपलब्ध गराउने र कम्पनीको आर्थिक अवस्थाअनुसार उक्त रकम फिर्ता लिने प्रक्रिया सामान्य व्यावसायिक अभ्यास भएको र व्यक्तिगत खातामा रकम देखिँदैमा त्यसलाई कर्जा अपचलन वा व्यक्तिगत लाभका रूपमा व्याख्या गर्नु उचित नहुने बैंकिङ क्षेत्रका जानकारको जिकिर छ । ‘यसरी व्याख्या गर्ने हो भने नेपालका अधिकांश ऋणीलाई यसरी नै मुद्दा लाग्छ’-बैंकिङ क्षेत्रमा लामो समय काम गरेका एक जानकार भन्छन् ।
भूगर्भ सिमेन्टसँग सम्बन्धित आर्थिक कारोबारसमेत बैंकिङ प्रणालीमार्फत नै सम्पन्न भएको र हाल कुनै लेनदेन बाँकी छैन । त्यस्तै, बानियाँ निर्माण सेवा र बानियाँ सप्लायर्सबीचको कारोबार पनि व्यावसायिक आवश्यकता तथा पारिवारिक सम्बन्धका आधारमा हुँदै आएको जनाइएको छ। सीआईबीले बैंकिङ कसुर तथा कर्जा अपचलनसम्बन्धी विषयमा अनुसन्धान गरिरहेका बेला सार्वजनिक भएका आरोपको मूल्यांकन अनुमान वा अपुष्ट विवरणका आधारमा नभई बैंकको कर्जा विवरण, वित्तीय अभिलेख तथा कारोबारका आधिकारिक प्रमाणका आधारमा हुनुपर्छ ।
‘कसैको चरित्र हत्या गर्न अनुमान र आशंकाकै भरमा संचारमाध्यम र सामाजिक सञ्जालमा बढाईचढाई लेख्नु जायज हैन’-बानियाँ निर्माण सेवासहितका कम्पनीलाई नजिकबाट बुझेका एक जानकारले भने-‘व्यवसायिक संस्थाले लिने हरेक ऋण र लगानी राज्यको नियमभित्रै रहेर गर्छ, त्यही दायरामा बिएनएस र सम्बन्धित कम्पनीले काम गरेको मैले देखेको छु ।’ उनका अनुसार कम्पनीका संचालकसंग पारिवारिक नाता भएका कसैको ईमान, ईज्जत र ख्यातीलाई कमजोर बनाउने खेल हो कि जस्तो लागेको बताउँदै उनले भने-‘यस्तो खेलमा राज्य संयन्त्र लाग्नु दुर्भाग्य हो, यसले व्यवसायिक वातावरण खलबलिन्छ।’
२५ अर्ब रुपैयाँभन्दा बढीका राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने जिम्मेवारी पाएको कम्पनी र त्यसका सञ्चालकलाई व्यक्तिगत रिसइबीका आधारमा अनावश्यक दुःख दिने कार्यले देशको विकास निर्माणमा समेत नकारात्मक असर पार्न सक्ने विकासविदहरू बताउँछन् । राजनीतिक र व्यक्तिगत पूर्वाग्रहबाट प्रेरित भएर गरिने यस्ता विषयमा सरकार तथा सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
अनुसन्धानबाट अन्तिम निष्कर्ष नआउँदै कसैलाई कर्जा अपचलनमा संलग्न रहेको ठहर गर्नु न्यायोचित नहुने उल्लेख गर्दै उनीहरूले वास्तविक वित्तीय कारोबार, बैंकका अभिलेख र आधिकारिक प्रमाणबाट नै सम्पूर्ण विषय स्पष्ट हुने विश्वास व्यक्त गरेका छन् । अनुसन्धानमा रहेको विषयमा गरिने ‘मिडिया ट्रायल’ ले कसैलाई फाइदा नपुग्ने भएकाले अनुसन्धान प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढाउन, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र आधिकारिक निष्कर्ष नआएसम्म संयमित हुन सञ्चारमाध्यम र सरोकारवाला सबैमा आग्रह गरिएको छ । राज्यले गर्ने अनुसन्धानमा बानियाँ निर्माण सेवासहित सम्बन्धित सबै कम्पनीले सहयोग गरिरहेको स्पष्ट हुन समेत आग्रह गरिएको छ ।



























