काठमाडौं – नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए ।
बुधबार काठमाडौंमा बद्री अर्यालद्वारा लिखित दुई पुस्तक समृद्ध नेपालको आर्थिक दिग्दर्शन र समृद्ध नेपालको राजनीतिक दिग्दर्शन बिमोचन गर्दै नेता पाण्डेले आर्थिक विकासका लागि सरकारले सबै काम आफैँले गर्ने नभई निजी क्षेत्रलाई सहजीकरण मात्र गर्नुपर्ने बताएका हुन् । विगतका नेताहरू सबै काम सरकारले नै गर्छ भनेर लाग्दा असफल भएको उनले बताए । उनले देशलाई ’बलियो’ भन्दा पनि ’प्रभावकारी’ सरकार चाहिएको र धेरै कानुन बनाउनुको साटो थोरै कानुन बनाएर स्वतः काम गर्न सक्ने परिस्थिति एवं वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरे ।
नवउदारवादी अर्थतन्त्रपछि लोकतान्त्रिक समाजवादका पुराना बहसहरू असान्दर्भिक भइसकेकाले हालको विश्व व्यापार, लाभ र राष्ट्र–केन्द्रित अर्थतन्त्रमा आधारित भएकाले नेपालले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति र दर्शन तय गर्नुपर्ने उनले बताए ।
त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले नेपालको आर्थिक विकासको प्रमुख आधार कृषि, पर्यटन र जडीबुटीमा आधारित उद्योग भएकाले व्यवसायीकरण, बजारीकरण र युवाहरूलाई आकर्षित गर्ने स्पष्ट राष्ट्रिय नीति आवश्यक रहेको उल्लेख गरे । आफ्नै स्रोत, सम्भावना, मौलिकता र वर्तमान शासन प्रणाली सुहाउँदो नयाँ आर्थिक विकासको बहस र नीति निर्माण गर्नुपर्ने उनले बताए ।
त्यस्तै उनले अहिलेको समाजमा मानिसहरू छिटो परिणाम खोज्ने र समस्या मात्रै देखाउने तर समाधान दिन नसक्ने अवस्थामा रहेको भन्दै सिर्जनशील बाटो अँगालेर समस्याको व्यावहारिक समाधान खोज्नुपर्नेमा जोड दिए ।





