काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले लगानीकर्ताको विश्वासका लागि नीतिगत सुधार गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित यूके–नेपाल बिजनेस फोरममा मन्त्री साहले अवसरसँगै लगानी आकर्षित गर्न विश्वास, नीतिगत पूर्वानुमानयोग्यता, पारदर्शिता र समयमै निर्णय आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान रहेको बताएका हुन् ।
उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको स्थिरता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई गम्भीरतापूर्वक लिइएको भन्दै अर्थ मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।
मन्त्री साहले ३० देखि ९० दिनभित्र बेलायती तथा नेपाली व्यवसायीले उठाएका मुख्य सरोकार, लगानी प्रस्ताव र नियामक अवरोध संकलन तथा पहिचान गरि समाधान गर्ने योजना सुनाए । उनले लगानीकर्तालाई केवल लगानीकर्ताका रूपमा मात्र नभई दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्दै संयुक्त लगानी, प्रविधि साझेदारी र उत्पादन क्षेत्रमा अघि बढ्न उहाले आह्वान गरे ।
मन्त्री शाहले बेलायतमा रहेको नेपाली डायस्पोरालाई लगानी, विशेषज्ञता, नवप्रवर्तन र ज्ञान हस्तान्तरणमार्फत दुई अर्थतन्त्रबिचको सेतु बन्न आग्रह समेत गरे । नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार, सेवा क्षेत्र र पर्यटनमा सहकार्यका ठुला अवसर रहेको उनको भनाइ छ ।



























