काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनै पनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे ।
महाधिवेशन समयमा निष्पक्ष रुपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सबै पक्षलाई बाधा अवरोध नपारी सहज रुपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए ।
राणाले महाधिवेशनको मुखमा एकलौटी रुपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि बिधान बिपरित नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केही समस्या देखिएको जिकिर गरे ।
त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पारे । नेतृत्वका विषयमा केही फरक मत भएपनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरुको नरहेको उनको भनाइ छ ।
महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सवैलाई मिलाएर अघि बढ्न खोजे सवै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए । उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाई गर्न नहुनेमा समेत जोड दिए ।



























































