काठमाडौं – सरकारले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राखेको जानकारी दिएका हुन् ।
उनले निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श प्रदान गरिएको बताए । प्रवक्ता अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिनियर म्यानेजमेन्ट टिमको बैठक सम्पन्न भएको र बैठकमा दैनिक कार्यसम्पादन, महाशाखा÷क्षेत्र÷शाखागत समन्वय तथा चालु आर्थिक वर्षका लक्ष्य र माइलस्टोन समयमै पूरा गर्न देखिएका समस्या समाधानबारे छलफल गरिएको जनाए ।
संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक कार्यक्रम, बजेट र योजनाबिच नीतिगत तादात्म्यता मिलाउन, सामञ्जस्यता कायम गर्न तथा दोहोरोपना हटाउन पछिल्लो तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने फ्रेमवर्क निर्माण गरिएको उनको भनाइ छ । त्यस्तै भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्सिर ११ गतेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ मौज्दात रहेको कार्यालयले जनाएको छ ।



























