काठमाडौं – आइरन चक्की खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको भन्दै सार्वजनिक भइरहेका समाचारप्रति स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले आपत्ति जनाएका छन्।

आफूलाई समेत खरिद प्रकरणमा जोडेर समाचार सार्वजनिक गरिएको भन्दै उनले आइरन चक्की खरिद प्रक्रियामा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखका रूपमा चार वर्ष काम गरेका पौडेलले आफ्नो जिम्मेवारी बजेट निर्माण र स्रोत व्यवस्थापनमा सीमित रहेको दाबी गरेका छन्। औषधिको आवश्यकता निर्धारण, प्राविधिक विशिष्टता तयार गर्ने र खरिद प्रक्रिया अघि बढाउने जिम्मेवारी भने स्वास्थ्य सेवा विभागका सम्बन्धित महाशाखाको भएको उनको भनाइ छ।


ADVERTISEMENT

# #


उनका अनुसार गर्भवती महिला तथा किशोरकिशोरीलाई लक्षित आइरन चक्की कार्यक्रमका लागि आवश्यक परिमाण निर्धारण गर्ने जिम्मेवारी परिवार कल्याण महाशाखाको हो। लाभग्राहीको संख्या, मौज्दात र आपूर्तिको अवस्थाका आधारमा परिमाण निर्धारण भएपछि व्यवस्थापन महाशाखाले खरिद प्रक्रिया अघि बढाउने व्यवस्था रहेको उनले बताए।

बजेट व्यवस्थापन र खरिद प्रक्रिया फरक जिम्मेवारी


ADVERTISEMENT

#
#


डा. पौडेलले नीति तथा योजना महाशाखाको काम उपलब्ध बजेटको सीमाभित्र स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालनका लागि स्रोत सुनिश्चित गर्नु रहेको बताएका छन्। विभिन्न अस्पताल तथा निकायबाट आउने बजेट प्रस्तावको अध्ययन गरी लागत प्रभावकारिता र प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गरिने उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रका लागि कुल राष्ट्रिय बजेटको कम्तीमा १० प्रतिशत विनियोजन हुनुपर्ने माग भए पनि व्यवहारमा करिब पाँच प्रतिशत हाराहारी मात्रै बजेट उपलब्ध हुने गरेको उनले उल्लेख गरेका छन्। सीमित स्रोतबाट अस्पताल, औषधि, उपकरण, जनशक्ति र जनस्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नुपर्ने चुनौती रहेको उनले बताए।

उनका अनुसार बजेट विनियोजन हुँदैमा सम्बन्धित निकायले गर्ने खरिद प्रक्रियामा नीति तथा योजना महाशाखाको संलग्नता हुन्छ भन्ने बुझाइ सही होइन। खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार सम्बन्धित निकायले नै अघि बढाउनुपर्ने उनले स्पष्ट पारे।

८७ पैसाको खरिद मूल्यबारे यस्तो छ स्पष्टीकरण

आइरन चक्कीको सरकारी खरिद मूल्य ८७ पैसा र बजार मूल्य साढे दुईदेखि साढे तीन रुपैयाँसम्म रहेको विषयमा उठेका प्रश्नबारे पौडेलले फरक समयमा र फरक निकायले गरेको खरिदलाई सोझै तुलना गर्न नमिल्ने बताएका छन्।

उनका अनुसार औषधिको खुद्रा मूल्य, अधिकतम खुद्रा मूल्य (एमआरपी), थोक मूल्य र सरकारी खरिद मूल्य फरक हुन सक्छन्। खरिदको परिमाण, औषधिको गुणस्तर, प्राविधिक विशिष्टता, म्याद र आपूर्तिका सर्तले मूल्यमा प्रभाव पार्ने उनले बताए।

उनले कुन कम्पनीले कति मूल्य प्रस्ताव गरेको थियो, कुन कम्पनीको प्रस्ताव स्वीकृत भयो र खरिदका प्राविधिक सर्त के थिए भन्ने विषयमा सम्बन्धित खरिद निकायबाटै तथ्यगत जानकारी लिनुपर्ने धारणा राखेका छन्।

मिडिया ट्रायल नगर्न आग्रह

आफ्नो प्रतिक्रिया नलिई फोटोसहित समाचार प्रकाशित गरिएको भन्दै पौडेलले पत्रकारिताको सन्तुलनमाथि प्रश्न उठाएका छन्। कुनै व्यक्तिमाथि आरोप लगाउनुअघि उसको जिम्मेवारी र भूमिकाबारे बुझ्नुपर्ने तथा सम्बन्धित पक्षको भनाइ पनि समेटिनुपर्ने उनको भनाइ छ। उनले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भए निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै जिम्मेवारी र अधिकारको तह नबुझी व्यक्तिलाई आरोपित गर्नु उचित नहुने बताएका छन्।

खरिद प्रक्रियामा कर्मचारी निरुत्साहित हुने चिन्ता

स्वास्थ्य क्षेत्रमा औषधि, खोप, परिवार नियोजनका सामग्री तथा उपकरणको नियमित आपूर्ति सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै पौडेलले खरिद प्रक्रियामा संलग्न कर्मचारीलाई निरन्तर आरोपको सामना गर्नुपर्ने अवस्था आउन नहुने बताएका छन्।

खरिद प्रक्रियाको हरेक चरणमा व्यक्तिगत आरोप र जोखिमको डर सिर्जना भए अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमै असर पर्न सक्ने उनको चिन्ता छ। उनले कुनै खरिदमा अनियमितता देखिए सम्बन्धित निकाय र व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने तर बजेट विनियोजन गर्ने, आवश्यकता निर्धारण गर्ने र वास्तविक खरिद गर्ने निकायबीचको जिम्मेवारी स्पष्ट छुट्याएर मात्रै समाचार तथा अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिएका छन्।