ललितपुर – नेपाली कांग्रेसको राजनीतिक दर्शनको मूल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई समयअनुकूल रूपमा व्यवहारमा रूपान्तरण गर्न पार्टीभित्र विज्ञता, अनुभव र विषयगत दक्षतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

बी.पी. कोइरालाले परिकल्पना गरेको समाजवादलाई केवल राजनीतिक नाराका रूपमा सीमित नराखी उत्पादन, रोजगारी, शिक्षा, सीप, आर्थिक न्याय, सामाजिक सुरक्षा र सुशासनसँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

यसै सन्दर्भमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट पेशागत विषय विज्ञ समूहबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित रमेशकुमार बखतीलाई पार्टीको केन्द्रीय नेतृत्वमा ल्याउन सके उहाँको लामो अनुभव र विज्ञतालाई नीति निर्माण तथा कार्यान्वयनमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

बखतीसँग प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासको क्षेत्रमा लामो अनुभव छ। उनी सीटीईभीटीका पूर्व कार्यकारी सदस्य–सचिव, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य एवं शिक्षा विभाग प्रमुखसमेत हुन्। व्यावसायिक शिक्षा, सीप विकास तथा रोजगारीका क्षेत्रमा काम गर्दै आएका बखतीले देशभर आफ्नो पेशागत नेटवर्कसमेत निर्माण गरेका छन्।

बी.पी.को समाजवादको मूल मर्मलाई आजको आवश्यकता र आर्थिक अवस्थासँग जोड्ने हो भने युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्नु, उत्पादन बढाउनु, किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु तथा श्रमिकलाई सम्मान र सामाजिक सुरक्षासँग जोड्नु आवश्यक देखिन्छ। यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।

गुणस्तरीय शिक्षा र बजारको मागअनुसारको सीप प्राप्त गर्ने अवसर हरेक नागरिकले पाउने वातावरण निर्माण गर्न सके युवा आत्मनिर्भर बन्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीको सीप, पूँजी र अनुभवलाई समेत राष्ट्रिय उत्पादनसँग जोड्ने नीति आवश्यक छ। यस्तो नीति निर्माण र कार्यान्वयनमा बखतीको व्यावसायिक शिक्षा तथा सीप विकाससम्बन्धी अनुभव उपयोगी हुन सक्ने विश्वास कांग्रेसभित्र राखिएको छ।

समाजवादको व्यवहारिक कार्यान्वयनका लागि राज्य, निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य आवश्यक रहेको कांग्रेस नेताहरूको बुझाइ छ। राज्यले सबै क्षेत्र नियन्त्रण गर्नेभन्दा उत्पादन र रोजगारी विस्तारका लागि विभिन्न क्षेत्रबीच सहकार्यको वातावरण निर्माण गर्नुपर्ने देखिन्छ।

त्यसैगरी आर्थिक अवसर र स्रोतमा नागरिकको न्यायपूर्ण पहुँच सुनिश्चित गर्दै कमजोर तथा विपन्न वर्गका लागि प्रभावकारी सामाजिक सुरक्षा व्यवस्था निर्माण गर्नु समाजवादको व्यवहारिक आधार बन्न सक्छ।

यससँगै नेपाली कांग्रेस स्वयं पनि समाजवादी मूल्य–मान्यताबाट निर्देशित हुनुपर्ने आवश्यकता छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, योग्यता, पुस्तान्तरण र जवाफदेहितालाई बलियो बनाउँदै गुट–उपगुट तथा व्यक्तिगत स्वार्थभन्दा पार्टी र जनहितलाई प्राथमिकता दिने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिइएको छ।