चितवन – चितवन राइनोजको आयोजनामा सुरु भएको गैंडा कप २०२६ अन्तर्गत पहिलो दिन बुधबार चार रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्। उद्घाटन दिन विभिन्न टोलीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई जित दिलाएका छन्।
पहिलो खेलमा इस्टर्न क्रिकेट एकेडेमीले काठमाडौं क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्यो। इस्टर्नले १११ रन बनाएको थियो। जवाफी ब्याटिङमा काठमाडौं क्रिकेट एकेडेमीले ९ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो। इस्टर्नका रोशन झाले ३२ रन बनाउँदै प्लेयर अफ द म्याच घोषित भए।
दोस्रो खेलमा इस्टर्न क्रिकेट एकेडेमी ‘ए’ले ग्रेट हिमालयन क्रिकेट एकेडेमी, साम्टिपनगरलाई ९ रनले हरायो। इस्टर्न ‘ए’ले ७८ रन बनाएको थियो भने ग्रेट हिमालयनले ६९ रनमा ७ विकेट गुमाउँदै इनिङ समाप्त गर्यो। ग्रेट हिमालयनका निश्चल केसीले १६ रनसँगै ४ विकेट लिएर उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि प्लेयर अफ द म्याच बने।
तेस्रो खेलमा भक्तपुर क्रिकेट क्लबले सीसी भक्तपुरलाई ६ विकेटले पराजित गर्यो। सीसी भक्तपुर ९.२ ओभरमा ४१ रनमा अलआउट भएको थियो। जवाफमा भक्तपुर क्रिकेट क्लबले ५.३ ओभरमा ४ विकेट गुमाएर ४२ रन बनाउँदै लक्ष्य पूरा गर्यो। भक्तपुरका ओमकार पन्तले २ ओभरमा ३ विकेट लिएपछि प्लेयर अफ द म्याचको पुरस्कार पाए।
दिनको अन्तिम खेलमा चितवन ट्रेनिङ सेन्टरले सीसी बालुवाटारमाथि ८ विकेटको सहज जित निकाल्यो। पहिले ब्याटिङ गरेको सीसी बालुवाटारले १० ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको थियो। जवाफी ब्याटिङमा चितवन ट्रेनिङ सेन्टरले ८ ओभरमै २ विकेट गुमाएर ८० रन बनाउँदै लक्ष्य पूरा गर्यो। चितवन ट्रेनिङ सेन्टरका अभय यादवले २ ओभरमा ७ रन खर्चेर ३ विकेट लिएपछि प्लेयर अफ द म्याच घोषित भए।
पहिलो दिनका चार खेल सम्पन्न भएसँगै प्रतियोगितामा अक्टोबर १ मा दोस्रो दिन थप चार खेल हुँदैछन्।
दोस्रो दिनका खेल :
बिहान ८ः०० बजे: इस्टर्न क्रिकेट एकेडेमी विरुद्ध हेटौंडा स्पोर्ट्स एकेडेमी
बिहान १०ः०० बजे: इस्टर्न क्रिकेट एकेडेमी ‘ए’ विरुद्ध सीसीए
दिउँसो १२ः०० बजे: भक्तपुर क्रिकेट क्लब विरुद्ध जीसीए (हात्तीवन)
दिउँसो २ः१५ बजे: चितवन ट्रेनिङ सेन्टर विरुद्ध एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमी
















